Monday, December 23, 2024
Homeधर्म र संस्कृतिआज छठ पर्व, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

आज छठ पर्व, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

विराटचोकः नेपालका तराईवासी समुदायको महान पर्व छठ आज तराईका साथै देशभर श्रद्धा, भक्ति र सम्पूर्ण साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा हर्षोल्लासका साथ मनाइँदैछ ।

नेपालको तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वमा सूर्यको उपासना गरिन्छ । ४ दिनसम्म मनाइने छठको आज तेस्रो तथा मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गरेपछि छठ सम्पन्न हुन्छ ।

यो पर्व परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा मनाइन्छ । छठ पर्वको आरम्भदेखि अन्त्यसम्म गीतको ध्वनि गुञ्जिरहन्छ । पिठो पिंध्दा, परिकार बनाउँदा, पूजा सामग्री नदी, पोखरी वा जलाशयसम्म लैजाँदा, पूजा चलिरहँदा र सूर्य देउतालाई अघ्र्य चढाउने बेलामा पनि गीत गाइन्छ । कार्तिक शुक्ल चौथीदेखि यो पर्व मनाउन शुरु गरिन्छ र सप्तमीको विहान यो पर्वको समापन गरिन्छ ।

पहिलो दिन अर्थात चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहाय खाय भनिन्छ । यस दिन व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरिन्छ ।

दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादको रुपमा विशेषगरी पाकेको केरा र खिरलाई लिइन्छ । त्यसपछि गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खिर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।

आज अर्थात् तेस्रो दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामग्री तयार पर्दा विशेष चनाखो हुन्छन् ।

यस दिन अन्नबाहेक फलफूल, ठेकुवा, भुसवा, खजुरी, पेरुकिया तथा मूला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत् गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरुप अर्घ्य दिनका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

पर्वको चौथो दिनलाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरिन्छ । अर्घ्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments