चैनपुरः ४० वर्षअघि २०४१ साल पुस ८ गते शनिबार संखुवासभाको तुम्लिङटारबाट काठमाडौ उडेको शाही नेपाल वायुसेवा निगमको ट्वीनेटर जहाज भोजपुर जिल्लाको चप्लेटी भन्ने डाँडामा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए भने सात जना बाँच्न सफल भएका थिए । सो दुर्घटनामा परेर बाँचेकामध्ये चैनपुरका पदमकुमार श्रेष्ठले ‘अर्को जन्म’ नामक कृति लेख्नुभएको छ ।
बिहिबार एक समारोहका बीच चैनपुर बजारको दिलकुमारी सभाहलमा सो कृति विमोचन गरिएको छ । चैनपुर नगरपालिकाकी उपप्रमुख एलिना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम चैनपुर समाज सेवा युवा क्लबले आयोजना गरेको थियोे । सो पुस्तकको बारेमा चन्द्रमणि दाहाल, विनिता बोगटी, रवीन्द्र नेयोङ, भीम कार्की, सुरेश रिमाल, सन्दीप नेपालले टिप्पणी गर्नुभएको थियो ।
चैनपुर समाज सेवा युवा क्लवका अध्यक्ष रञ्जन श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा क्लबका उपाध्यक्ष उमेश शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो । लेखकका छोरा अर्जुन श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । पुस्तकको प्रकाशकीय झमेलासहितको अनुभव लेखकका छोरा नवीन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
सो कृतिले चैनपुरलाई चिनाउन र इतिहास राख्न सफल भएको प्रमुख अतिथि एलिना श्रेष्ठले बताउनुभयो । कृतिका सम्पादक एकु घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सो पुस्तक लेखकको जीवनको संस्मरण हो । जहाँ कृषि, शिक्षा, पर्यटन, संस्कृति, सामाजिकलगायतका अनेक पक्षको वर्णन गरिएको छ ।