विराटचोकः अमेरिकी डलरको भाउ निरन्तर बढ्दै जाँदा आज फेरि नयाँ रेकर्ड कायम भएको छ । डलरको भाउ १ पैसाले बढेर नयाँ रेकर्ड कायम भएको हो । हिजो पनि डलरको भाउ २ दिनअघिको भन्दा १ पैसा बढेर रेकर्ड कायम भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३४ रुपैयाँ २४ पैसा र बिक्री दर १३४ रुपैयाँ ८४ पैसा पुगेको छ ।
आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ३३ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ६८ पैसा रहेको छ । पाउन्ड स्ट्रलिङ १ को बिक्रीदर १७४ रुपैयाँ ८८ पैसा र खरिद दर १७४ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ०५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।
आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमयदर छ ।