विराटचोकः सुकुना बहुमुखी क्याम्पस मोरङको १८ औँ परिषद् बैठक आइतबार सम्पन्न भएको छ ।
परिषद् बैठकको उद्घाटन सत्रमा क्याम्पस स्थापनामा महत्वपूर्ण सहयोग गर्ने ५ जना व्यक्तिलाई सम्मान गरिएको थियो । क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँ, क्याम्पस सञ्चालक समितिको तीन पटकसम्म अध्यक्ष हुनुभएका चन्द्रबहादुर गुरुङ, संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्ले, जग्गादाता, चन्दादाता एवम् सञ्चालक समितिका पूर्व उपाध्यक्ष उदयनारायण काफ्ले र चन्दादाता एवम् सञ्चालक समितिका पूर्व सदस्य मानबहादुर बस्नेतलाई सम्मान गरिएको हो । सम्मानित हुने व्यक्तिहरुलाई नेपाली टोपी, दोसल्ला र ताम्रपत्रबाट सम्मान गरिएको थियो ।
परिषद् बैठकलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुकुना क्याम्पसको विकास र ख्यातिका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो । विशिष्ट अतिथि मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले क्याम्पसले प्राविधिक तथा व्यावसायिक धारका विषयहरू सञ्चालन गर्नुपर्ने र यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोशी प्रदेश सभाका सांसद ज्ञानेन्द्र सुवेदीले क्याम्पसले प्राप्त गरेको शैक्षिक, भौतिक र व्यवस्थापकीय उपलब्धी प्रशंसायोग्य र अनुकरणीय रहेको बताउनुभयो ।
सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायनको प्रमाणपत्र प्राप्त भएपछि क्याम्पसले थप उचाइ प्राप्त गर्ने विश्वास रहेको बताउनुभयो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सहप्राध्यापक डा. डिल्ली प्रसाईँले त्रिविले परीक्षा क्यालेण्डर लागु गरिसकेको अवस्थामा क्याम्पसमा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरू अझ प्रभावकारी हुने बताउनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बूले त्रिविका विकृति र विसङ्गति औँल्याउँदै सुकुना क्याम्पसमा यस्ता विकृति नरहेको बताउँदै विद्यार्थीलाई आकर्षित गर्ने नयाँनयाँ शैक्षिक कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, कोशी प्रदेश सरकारका पूर्वराज्यमन्त्री राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशन ढकाललगायतको उपस्थिति रहेको थियो ।
परिषद् बैठकमा सञ्चालक समितिकोतर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले शैक्षिक सत्र २०८०\०८१ को शैक्षिक, व्वस्थापकीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रमहरू, शैक्षणिक विधि, सिकाइ उपलब्धी, भौतिक, आर्थिक पक्षसहितको वार्षिक प्रगति प्रतिवेदन, चालु शैक्षिक सत्रको नीति तथा कार्यक्रम र चालु आर्थिक वर्षका लागि २१ करोड ९८ लाख १२ हजार ६ सय २८ रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले गर्नुभएको थियो ।
सुकुना क्याम्पसका १८३ जना विद्यार्थीलाई १८ लाख ८२ हजार रुपैयाँ छात्रवृत्ति वितरण