चित्रः श्रीनिवास भण्डारी
विराटचोकः आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन हो । आज नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको तस्विर अंकित फोटो टाँसेर नागपञ्चमी मनाइन्छ ।
नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहेको छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै रहेको छ ।
वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
नागपूजाको विधिः
नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र–अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् ।