विराटचोकः आज पनि बिहीबारकै हाराहारीमा नेप्से बढेको छ । बिहीबार २ दशमलव ५३ प्रतिशत अर्थात् ५९ दशमलव ६८ अङ्क बढेको नेप्से आज २ दशमलव ५४ प्रतिशत अर्थात् ६१ दशमलव ६१ अङ्क बढेको छ । २४२४ दशमलव ३२ बिन्दुबाट शेयर बजार २४८५ दशमलव ९४ बिन्दुमा पुगेको छ ।
नेप्सेले २५०० को बिन्दु पार गरे लगानीकर्तामा आत्मविश्वास बढेर थप लगानी बढाउने अनुमान गरिएको छ । आज सेन्सेटिभ इण्डेक्स पनि ३ दशमलव १० प्रतिशत अर्थात् १३ दशमलव ५३ अङ्क बढेर ४४९ दशमलव ६८ अङ्कमा रोकिएको छ । कारोबर रकम भने बिहीबारको भन्दा घटेको छ । बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँको कारोबार भएको थियो । आज भने १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार बढेसँगै ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक र गणपति माइक्रोफाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको हो । मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य पनि १० प्रतिशत हाराहारीमा बढेको छ । एनएमबी ५०, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, कुमारी बैंक र सुपर मादी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।
बजार बढे पनि सिक्लेस हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड, ग्रीन भेन्चर लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, इस्टर्न हाइड्रोपावर लिमिटेड र विभिन्न सामुहिक लगानी कोषका एकाइहरु उच्च मूल्य गिरावट आउने कम्पनीमा परेका छन् ।
उच्च कारोबार गर्ने कम्पनीमा सोल्टी होटल, हिमालयन रिइन्स्योरेन्स कम्पनी, कुमारी बैंक, सिइडीबी हाइड्रोपावर र शिवम् सिमेण्ट्स परेका छन् ।
ती कम्पनीको क्रमशः ३४ करोड १० लाख ९६ हजार ३०७ रुपैयाँ, ३० करोड ६७ लाख ४२ हजार ७८२ रुपैयाँ, २७ करोड ९३ लाख ६२ हजार ४४१ रुपैयाँ, २६ करोड ८५ लाख ८८ हजार ४१४ रुपैयाँ र २४ करोड ६८ लाख ४२ हजार १८१ रुपैयाँको कारोबार भएको छ ।
धेरै कित्ता कारोबार हुने कम्पनीमा कुमारी बैंक परेको छ । सो बैंकको ४ हजार ५९२ पटकको कारोबाराम १४ लाख ९० हजार ५५० कित्ता शेयर किनबेच भएको छ । नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको ४ हजार ४६१ पटकको कारोबारमा ११ लाख ९ हजार ९६९ कित्ता शेयर किनबेच भएको छ । प्रभु बैंक र हिमाल दोलखा हाइड्रोपावर धेरै कित्ता शेयर किनबेच हुने अन्य कम्पनीमा परेका छन् ।
आज ३१५ कम्पनीको १ लाख ७७ हजार ४६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर किनबेच भएका हुन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३९ खर्ब ४४ अर्ब ४६ करोड २२ लाख ८४ हजार ७८४ रुपैयाँ कायम भएको छ ।