इटहरीः एमएस प्रोडक्सन नेपालको आयोजनामा हुने ‘फेस अफ नेपाल’ यस वर्ष नयाँ स्वरूपमा आयोजना हुने भएको छ । आयोजक परिवर्तन भएसँगै यसको स्वरूपमा समेत परिवर्तन गरिएको बताइएको छ ।
सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट मोडल हन्ट ‘फेस अफ नेपाल’ यसअघि काठमाडौँ केन्द्रित हुँदै आएको थियो । यस वर्षदेखि देशव्यापी बनाउने तयारी गरिएको इटहरीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउनेछन् । जसका लागि वैशाख १७ गतेबाट नै आवेदन खुला गरिसकिएको छ । प्रतियोगितामा १८ वर्षदेखि माथिका पुरुष तथा महिला सहभागी हुन सक्नेछन् ।
५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने बताइएको छ । प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवश्यक पर्ने विवरण भरेर आवेदन दिन सकिने बताइएको छ ।
पहिलो अडिसन असार ११ गते इटहरीको होटेल उत्सवमा गरिने र सातै प्रदेशको अडिसन सकेपछि प्रतियोगिताको ग्राण्ड फिनाले काठमाडौँमा गरिने बताइएको छ ।