सलकपुरः सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने नाममा अभिभावकबाट शुल्क लिइएकोमा नागरिक समाज सुन्दरहरैंचाले आपत्ति जनाएको छ ।
समाजको प्रथम परिषद् तथा आठौँ वार्षिक उत्सवमा समाजका अध्यक्ष दधिराम ढुङ्गानाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । सुन्दरहरैंचाका १० वटा आधारभूत विद्यालयमा अध्ययन र अनुगमन गरी तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्दै ढुङ्गानाले सामुदायिक विद्यालयको आधारभूत शिक्षामा सुधारको आवश्यकता रहेको औँल्याउनुभयो ।
समाजले आधरभूत शिक्षा सुधार अभियान २०८० घोषणा गरी गत शैक्षिक सत्रमा ती सामुदायिक विद्यालयको अनुगमन गरेको थियो । चालु शैक्षिक सत्रमा पनि सो कार्यक्रमलाई निरन्तरता दिइने समाजले जनाएको छ ।
सरकारले माध्यमिक शिक्षा निःशुल्क भने पनि अङ्ग्रेजी माध्यममा अध्यापन गराउने नाममा सामुदायिक विद्यालयले शुल्क लिइरहेकोमा समाजले आपत्ति जनाएको छ । विद्यालय सहयोगका नाममा शुल्क उठाएर कक्षा सञ्चालन भइरहँदा पनि सरकारले अनुगमन नगरेको उहाँको भनाइ थियो । एउटै भवनमा नेपाली र अङ्ग्रेजी माध्यममा अध्ययन गराएर सरकारले सामुदायिक विद्यालयमा विभेदपूर्ण ढङ्गले कक्षा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
समाजले यस वर्ष पनि विद्यालय अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले समाजले प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गरी सामुदायिक विद्यालय सुधारको कार्यक्रममा नगर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी पीतकुमार श्रेष्ठले अङ्ग्रेजी माध्यमका लागि दरबन्दी सिर्जना नहुने हुँदा शिक्षकको पारिश्रमिकका लागि शुल्क उठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । राज्यले धेरै खर्च गरेरमात्रै ल्याउन सक्ने तथ्याङ्क समाजले न्यून खर्चमा सम्पन्न गरेकोमा उहाँले समाजलाई धन्यवाद दिनुभएको थियो ।
सुकुना बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष केशव अधिकारीले नागरिक समाजले अन्य संघसंस्था, राजनीतिक दल, सञ्चारकर्मीलाई साथमा लिई यस्ता राम्रा काममा अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
रेडियो सुसेलीका स्टेशन म्यानेजर बाबुराम निरौलाले विभिन्न अध्ययनले कक्षा ५ सम्मको सामुदायिक विद्यालयको शिक्षा धेरै कमजोर रहेको धारणा राख्नुभयो । बाल कक्षामा सामुदायिक विद्यालयमा भर्ना भएको विद्यार्थी कक्षा १ देखि ५ सम्म संस्थागत विद्यालयमा पढ्ने तर सोही विद्यार्थी कक्षा ६ मा सामुदायिक विद्यालयमा भर्ना हुने गरेको पाइएको उहाँको भनाइ थियो ।
नगर शिक्षा समितिका सदस्य यामप्रसाद सिग्देलले आधारभूत तहको विद्यालयको शिक्षण नतिजा कमजोर रहेको स्वीकार्नुभयो ।
कार्यक्रममा नागरिक वडा समितिको प्रतिनिधित्व गर्दै लोकेन्द्र काफ्ले, सचेत नागरिक समाज सुन्दरहरैंचाका उपाध्यक्ष भक्तबहादुर पोखरेल, लायन्स क्लब अफ इन्द्रपुरका अध्यक्ष खगेन्द्र रिजाललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
समाजका महासचिव खडानन्द ढुङ्गानाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष अनिता अधिकारीले राख्नुभएको थियो ।
नगरपालिकाले दिने सेवा पनि सेवाग्राहीमैत्री नभएको प्रतिवेदनमा उल्लेख छ । सेवा जानकारी बोर्ड नगरका कतिपय शाखाले नराखेको, नागरिक बडापत्र नराखिएको, नागरिक सहायता कक्ष प्रभावकारी नभएको लगायतका विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।