Monday, December 23, 2024
Homeकला र साहित्यसुन्दरहरैंचा साइकल राइडर्सको आयोजनामा विराटचोकमा बृहत् गजल महफिल

सुन्दरहरैंचा साइकल राइडर्सको आयोजनामा विराटचोकमा बृहत् गजल महफिल

विराटचोकः सुन्दरहरैंचा साइकल राइडर्सको आयोजनामा विराटचोकमा गजल महफिलको पाँचौँ शृङ्खला सम्पन्न भएको छ । महफिलमा ४ जना गजलकारले ६ वटाका दरले आफ्ना गजल वाचन गर्नुभएको थियो ।

सो गजल महफिलमा सुनसरीका राज भट्टराई, काठमाडौंकी विमला दाहाल, कास्कीका विनोद परिवर्तित र अछामका लक्ष्मण सङ्गमले गजल वाचनमार्फत् उपस्थित गजलप्रेमीको वाहवाही बटुल्नुभयो ।

तीन चरणमा दुई वटाका दरले गजल वाचन गर्ने क्रमको शुरुवात कास्कीका गजलकार परिवर्तितले गर्दै गजल वाचन गर्नुभयो । उद्घोषक शान्ति गुरुङ पाख्रिनले परिवर्तितलाई आमन्त्रण गर्दै गर्दा वाचन गर्नुभएको शेर समेटिएको गजल वाचन गरेर कार्यक्रम शुरु गर्नुभएका उहाँले अन्तिम गजल यसरी वाचन गर्नुभयोः
तिम्रा निमित्त मैले के गर्न बाँकी राखेँ
एउटै हो मर्न बाँकी पलपल मरिरहेँछु ।।
गोरखामा शिक्षण पेशामा आबद्ध परिवर्तितका गजलका शेरमा प्रेमका साथै दुःख, पीडा, परदेशीका पीडा आदि समेटिएका थिए ।

काठमाडौंकी गजलकार विमला दाहालका गजलले पनि स्रोताको वाहवाही पाए ।
सबै अमूल्य वस्तुको अन्त्य सुखद कहाँ हुन्छ र
चन्दनलाई हेर्नुहोस् त पलपल घोटिएर सकिनुपर्छ  ।।
दाहालका गजल प्रेमिल मात्रै थिएनन् । आक्रोश, आडम्बर र कुरीतिविरुद्ध गतिलो झापड पनि उहाँका गजलमा दर्शक स्रोताले अनुभूति गरे । नेतृत्वलाई व्यङ्ग्य गर्दै ग्रामीण परिवेशको चित्रण गरिएको उहाँको गजलको एक शेरः

लाससमेत गाडी चढेर हिँड्छ हजुरको शहरमा
गाउँमा अस्पताल पैदल जान्छन् बच्चा जन्माउने मान्छे ।।

सुदूर पश्चिमको अछाममा जन्मिनुभएका लक्ष्मण सङ्गमका गजल पनि उत्तिकै गहन थिए ।
कोही अरुको अस्तित्व राखेर सकिने गर्छन्
फूल सुके पनि ठाउँको नाम फूलबारी रह्यो ।

सुनसरीको सदरमुकाम इनरुवा निवासी गजलकार राज भट्टराईका गजलले पनि उत्तिकै वाहवाही पाए । उहाँको गजलको एक शेरः
दुखाइ निको पार्छु भन्छ साथी
जहिल्यै घाँटीमै गर्छ मसाज मेरो

सुन्दरहरैंचा साइकल राइडर्सका अध्यक्ष खेमराज दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शान्ति गुरूङ पाख्रिनले गर्नुभएको थियो । कार्यक्रमको संयोजन राइडर्सका सचिव यादव भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्यका साथमा कार्यक्रमको औचित्यमाथि सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा आफ्नो गजल सङ्ग्रह ‘शीतको ताप’को विषयमा सोधिएका विभिन्न प्रश्नको जवाफ गजलकार किशोर कोइरालाले दिँदै सो कृतिको विषयमा थप चर्चा गर्नुभएको थियो ।

पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापा, मोरङ तथा सुनसरीका साहित्यप्रेमीको उल्लेख्य सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments