गोठगाउँः सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पञ्चायत माविको जग्गाको स्वामित्वलगायतका विषयमा शनिबार विद्यालयमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । विद्यालयसँग सरोकार राख्ने संघसंस्थाका प्रतिनिधि, विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्षहरु, जनप्रतिनिधिलगायतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
बैठकमा सहभागी अधिकांशले कानुनी प्रक्रिया पूरा गरेर जग्गाको स्वामित्व ग्रहण वा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको थियो ।
विद्यालयको जग्गाको स्वामित्व ग्रहणलगायताका विषयमा प्रक्रिया अघि बढाउन गत साउनमा सुन्दरहरैंचा ७ का वडाध्यक्ष भुवनसिंह मगरको संयोजकत्वमा गठित समितिले ८ महिनामा गरेको प्रगतिको विवरण प्रधानाध्यापक खगेन्द्र रायामाझीले प्रस्तुत गर्नुभएको थियो ।
प्रधानाध्यापक रायमाझीको विवरण सुनेपछि बैठकमा सहभागीहरुले आफ्नो भनाइ राख्नुभएको थियो । बैठकमा सहभागीले उठाएका सुझावपछि समितिले चाँडै नै एउटा निष्कर्ष निकाल्ने जनाएको छ ।