विराटचोकः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सुकुना बहुमुखी क्याम्पसमा आयोजित विज्ञान प्रदर्शनीको उद्घाटनमा आयोजित कार्यक्रममा विद्यार्थीलाई उत्प्रेरित गर्नुभएको छ । ३ दिनसम्म चल्ने प्रदर्शनीको सोमबार उद्घाटन गर्दै उहाँले देशलाई समृद्ध गराउनमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो ।
‘समाजको, देशको लागि ठूलो आकाङ्क्षा बोकेर आउनुभएका तपाईँहरुको सफलताको कामना गर्दछु’, मन्तव्यको शुरु यसरी गरेका मन्त्री खत्रीले भन्नुभयो, ‘यो मुलुक तपाईँहरुले चलाउने हो । तपाईँहरुको स्वर्णिम भविष्य छ । अबको २० वर्ष, ३० वर्षपछाडि देशलाई सही मार्गमा हिँडाउने, मुलुकलाई चाहिएको दक्ष जनशक्तिको रुपमा आफूलाई स्थापित गराउँदै देशको सर्वाङ्गीणमा विकासमा तपाईँहरु लाग्नुपर्छ ।’
प्रदेश सरकारले केही राम्रा कामको थालनी गरेको बताउनुहुँदै उहाँले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम्सेविकाको प्रोत्साहनस्वरुप भत्ता तोक्नेलगायतका काम प्रदेश सरकारले गरेका उल्लेख्य काम भएको उहाँको भनाइ थियो ।
उद्घाटन समारोहलाई लेटाङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद बराल, सुविजीमुर मावि सुन्दरहरैंचाका प्रिन्सिपल गोविन्द कार्की, बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्की, सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्बूलगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि मन्त्री खत्रीले रोबोटद्वारा रिबन काटेर प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो ।