काठमाडौंः अमेरिका, युरोप र जापानको शेयर बजार बिहीबार नयाँ ‘अल टाइम हाई’ विन्दुमा पुगेका छन् । यी देशहरुको बजारमा आएको वृद्धिका कारण २३ वटा विकसित र २४ वटा उदीयमान शेयर बजारहरुको प्रदर्शन मापन गर्ने ‘एमएससीआई अल कन्ट्री वर्ल्ड इन्डेक्स’ पनि अल टाइम हाई विन्दुमा पुगेको छ ।
विश्वभरका ठूला शेयर बजारलाई अल टाइम हाई विन्दुमा पुर्याउन जम्मा एउटा कम्पनी प्रमुख भूमिका देखिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता ‘एनभिडिया’ को आश्चर्यजनक वित्तीय विवरणले बिहीबार शेयर बजारमा अल टाइम हाईको विश्वव्यापी लहर जगाएको रोयटर्सले उल्लेख गरेको छ । एनभिडियाको शेयर बिहीबार एकै दिन १६.४% ले बढेपछि विश्वभरका एआई चिप सम्बन्धी कम्पनीहरुको शेयर भाउमा उछाल आएको हो । एनभिडियाकै प्रभावका कारण अमेरिकी बेन्चमार्क ‘एस एन्ड पी ५००’, ‘डाउ जोन्स इन्डस्ट्रियल एभरेज’, युरोपको ‘स्टक्स ६००’ र जापनको ‘निक्के २२५’ इतिहासकै उच्च बिन्दुमा पुगेको रोयटर्सले उल्लेख गरेको छ ।
फ्रान्कफर्ट स्टक एक्सचेन्जको ‘डीएएक्स’ सूचक र पेरिसको ‘एफसीएचआई’ पनि बिहीबार अल टाइम हाई विन्दुमा पुगेका छन् भने चिनियाँ शेयर बजारले पनि आफ्नो वृद्धि यात्रालाई लगातार ८ सेसनमा विस्तार गरेको छ ।
बुधबार शेयर बजार बन्द भएपछि ‘एनभिडिया’ ले पहिलो त्रैमासिक आम्दानीमा करीब ३ गुणा वृद्धि हुने प्रक्षेपण गर्यो भने एआई चिप्सको कडा मागका कारण चौथो त्रैमासमा पनि अपेक्षा भन्दा बढी आम्दानी गरेको वित्तीय विवरण सार्वजनिक गर्यो । ‘एनभिडिया’ को वित्तीय विवरणपछि विश्वभरका प्रविधि कम्पनीहरुको शेयरमा उछाल आयो । जापानको शेयर बजारमा पनि ३५ वर्षपछि ‘निक्के २२५’ नयाँ अल टाइम हाई बिन्दुमा पुग्न सफल भयो ।
यता, युरोपेली शेयर बजार पनि इतिहासकै उच्च विन्दुमा पुग्यो । वित्तीय प्रक्षेपण सार्वजनिक गरेपछिको पहिलो कारोबार अर्थात बिहीबार एकै दिनमा एनभिडियाको शेयर भाउ १६.४०% वृद्धि भएको छ । शेयर भाउमा उछाल आउँदा एनभिडियाको बजार पूँजीकरण एकै दिन २ खर्ब ७७ अर्ब डलरले वृद्धि भएको छ । उक्त वृद्धि कुनै पनि कम्पनीले बजार पूँजीकरणमा एकै दिन हासिल गरेको इतिहासकै सबैभन्दा ठूलो वृद्धि हो ।
यसअघि गत फेब्रुअरी २ मा फेसबुकको माउ कम्पनी मेटाको बजार पूँजीकरणमा एकै दिन करिब २ खर्ब डलरले वृद्धि भएको थियो । यससँगै एनभिडियाको बजार पुँजीकरण १९ खर्ब ६० अर्ब डलर पुगेको छ । जुन माइक्रोसफ्ट र एप्पलपछि तेस्रो हो । – नेपाली पैसाबाट