विराटचोकः सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस पाउन ती कम्पनीको शेयरधनी बन्ने आज अन्तिम दिन हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार इन्स्योरेन्सले भोलि फागुन ११ गते र लघुवित्तले फागुन १३ गते आइतबार बुक क्लोज गर्दैछन् । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले ती कम्पनीको लाभांश पाउने हुनाले आज शेयरधनी बन्ने अन्तिम दिन हो ।
सिद्धार्थले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्ने भएको छ ।
स्वरोजगारले फागुन २६ गते शनिबार नेपाल हाउस, हात्तीसार, काठमाडौँमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा दिउँसो साढे ११ बजे शुरु हुने भएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले सर्वसाधारणमा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने भएको छ ।