काठमाडौंः चित्रकलाको माध्यमबाट पालिकाको संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आजदेखि फागुन १७ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ (खुला ठाउँमा प्रत्यक्ष चित्रकला) गर्ने भएको छ ।
नेपाल आर्ट काउन्सिल, बबरमहल, काठमाडौंमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल र धनु आर्ट स्टुडियो, काठमाडौंको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । असोज १७ देखि २१ गतेसम्म दिक्तेल तथा आसपासका स्थानहरूमा केन्द्रित रहेर नेपाल, अस्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायत १४ देशका करिब ४३ जना भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार (चित्रकार)हरूको प्रत्यक्ष सहभागिता र हजारौँ दर्शकहरूको माझमा पहिलो चरणको ‘मुन्दुम’ अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला प्लेन एयर कार्यशाला २०८० सम्पन्न भइसकेको छ ।
सोही कार्यशालामा चित्रकारहरूले कोरेका चित्रहरूको प्रदर्शनी गर्न लागिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । प्रदर्शनीको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने र नेपालसहित विभिन्न देशका ४६ जना चित्रकारका १५० भन्दा बढी क्यानभासमा तयार पेन्टिङ प्रदर्शनीमा राखिने बताइएको छ ।
प्रदर्शनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका अध्यक्ष रवि लामिछाने लगायत सबै दलका प्रमुख नेताहरूलाई पनि प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलमा अवलोकनका लागि बोलाइएको मेयर भट्टराईले बताए । विभिन्न देशका राजदूतहरूलाई पनि अवलोकनका लागि सहभागी गराइने प्रदर्शनीको समापन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन् ।