विराटचोकः रिडी पावर कम्पनी लिमिटेडले फागुन १८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरेको हुनाले माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कम्पनीको हकप्रद शेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।
कम्पनीले हकप्रद शेयर निष्काशन गरी प्राप्त पूँजीको प्रयोग तल्लो बलेफी जलविद्युत आयोजनाको आवश्यक स्वपूँजी रुपमा लगानी गर्ने जनाएको छ । त्यसैगरी, बैंकहरुसँग ऋण सम्झौता सम्पन्न हुँदा कम्पनीको ऋण तथा स्वपूँजीको अनुपात ६७.३३ वा सोभन्दा राम्रो हुनुपर्ने प्रावधानका कारण पनि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ ।