Tuesday, October 13, 2026
Homeसमाचारस्थानीयले फोन, फेसबुक पोष्ट र फेसबुक लाइभमार्फत् बाढीको सूचना दिएपछि बुढीगण्डकी बाढीले...

स्थानीयले फोन, फेसबुक पोष्ट र फेसबुक लाइभमार्फत् बाढीको सूचना दिएपछि बुढीगण्डकी बाढीले गरेन मानवीय क्षति

काठमाडौंः हिजो अचानक बुढीगण्डकीमा आएको बाढीले गोरखामा धेरै भौतिक क्षति पुर्यायो ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीसँगै डेढ महिनायता विपद व्यवस्थापनका सन्दर्भमा पूर्वसूचना प्रणाली सबभन्दा बढी चर्चामा आयो ।

भोटेकोशी–त्रिशूली बाढीका क्रममा तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउने साइरन नबजेपछि पूर्वसूचना प्रणालीको प्रभावकारितामाथि प्रश्न उठेको थियो । सरकारी संयन्त्रको कमजोरीबारे बहस पनि भयो ।

तर भोटेकोशी बाढीको त्रास र पूर्वसूचना प्रणालीमाथि उठेका प्रश्न सेलाउन नपाउँदै आइतबार बिहान गोरखामा अर्को ठूलो बाढी आयो । फेरि पूर्वसूचना प्रणालीले काम गरेको देखिएन ।

बरू स्थानीय बासिन्दा आफैँले मोबाइल र सामाजिक सञ्जालबाट सूचना आदानप्रदान गरेर ठूलो मानवीय क्षति हुनबाट जोगाए ।

असोज २५ गते बिहान करिब ५ बजे चुमनुब्री गाउँपालिका–६ स्थित चुम्लिङ नजिकै उङ्गिलुङ खोलामा बाढी आएको थियो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विश्लेषण अनुसार उङ्गिलुङ खोलाबाट आएको बाढीले स्यारखोला थुनिएको थियो । केही समयपछि थुनिएको खोला फुट्दा बूढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी आएको थियो ।

यसपटक पनि बाढी आएको क्षेत्रमा तटीय गाउँका बासिन्दालाई पूर्वसूचना दिन साइरन थिएन । न त बाढीको जोखिमबारे अग्रिम जानकारी दिने कुनै सरकारी पूर्वसूचना केन्द्र नै थियो ।

प्राधिकरणका विपद प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार हिमाली क्षेत्रमा पर्ने र तुलनात्मक रूपमा साना खोला भएकाले उङ्गिलुङ र स्यारखोलामा बाढीको पूर्वसूचना प्रणाली जडान नै गरिएको थिएन ।
ती खोला बूढीगण्डकीमा मिसिएपछि आरूघाटमा बाढी मापन केन्द्र थियो । त्यहाँ ५ मिटरलाई खतराको संकेत मानिन्थ्यो । त्यहाँको केन्द्रले ८.३ मिटर मापन गरेको छ ।

यद्यपि बाढी आरूघाटस्थित मापन केन्द्रसम्म आइपुग्नुअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दाले बाढीको सूचना पाइसकेका थिए ।

त्यो सूचना कुनै सरकारी स्वचालित पूर्वसूचना प्रणालीबाट आएको थिएन । माथिल्लो भेगका स्थानीय बासिन्दाले नै फोन गरेर तल्लो क्षेत्रका बासिन्दालाई सचेत गराएका थिए ।

चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पाका स्थानीयले बाढी आउने संकेत पाएलगत्तै आफू सुरक्षित स्थानमा बसेर तल्लो भेगमा रहेका आफन्त र अन्य बासिन्दालाई खबर गरेका थिए ।

बाढीबारे गोरखास्थित सुरक्षा निकायले बिहान ५ बजेतिरै जानकारी पाएका थिए । प्राधिकरणको केन्द्रीय कार्यालयमा भने साढे ५ बजे मात्र सूचना पुगेको थियो ।

त्यसअघि नै स्थानीय स्तरमा एकअर्कालाई खबर गर्ने क्रम शुरू भइसकेको थियो । सम्बन्धित निकाय र स्थानीयले एकअर्कालाई समयमै जानकारी गराएकाले मानवीय क्षति कम भएको हो ।

सरकारी पूर्वसूचना प्रणाली नभएको ठाउँमा स्थानीयको आपसी सम्पर्क नै बाढीबाट जोगिने महत्त्वपूर्ण माध्यम बनेको प्राधिकरणले पनि स्वीकार गरेको छ ।

स्थानीय तह र जिल्ला प्रशासनबाट गरिएको माइकिङ, फोन र मेसेजले पनि मानिसहरूलाई सुरक्षित स्थानमा पुग्न सहयोग पुगेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments