विराटचोकः नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित हुनुभएको छ ।
अन्तिम मतगणना अनुसार खुलातर्फ भण्डारी र आचार्य उपसभापति तथा समावेशीतर्फ चौधरी निर्वाचित हुनुभएको हो ।
खुला उपसभापतिमा भण्डारी ३ हजार ७३५ मतसहित निर्वाचित हुनुभएको हो । विजयी मधु आचार्यले २ हजार ३४२ मत पाउनुभएको थियो ।
प्रतिस्पर्धामा रहेका अन्य आकांक्षीमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरूङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत ल्याउनुभएको थियो ।
समावेशी उपसभापतिमा विनोद चौधरी आफ्ना निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
चौधरीले १ हजार ७४५ मत पाउँदा परियारले १ हजार ६५८ मत ल्याउनुभएको थियो ।
अन्य प्रतिस्पर्धीमध्ये फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरूङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत ल्याउनुभएको छ ।
कांग्रेस सभापतिमा गगन थापा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरी विजयी भइसक्नुभएको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
कांग्रेसले यस महाधिवेशनबाट पदाधिकारीको संख्या विस्तार गरेको छ । संशोधित विधान अनुसार पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिएको छ ।
चार उपसभापतिमध्ये दुई खुला, एक महिला र एक समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था छ ।
महामन्त्रीमध्ये दुई खुला र एक महिला समूहबाट निर्वाचित हुनेछन् । यसअघि कांग्रेसमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो ।
महाधिवेशनले केन्द्रीय कार्यसमितिको आकार पनि बढाएर २९७ सदस्यीय बनाएको छ ।
सहमहामन्त्रीको मत गणना जारी छ ।
यस्तो छ उपसभापति पदको अन्तिम मत परिणाम
उपसभापति — खुला (२ पद)
चन्द्रकान्त भण्डारी (विजयी)— ३,७३५
मधु आचार्य (विजयी)— २,३४२
गोविन्द भट्टराई— १,७५२
सुरेन्द्रराज पाण्डे— १,६७३
धनराज गुरूङ— १,५९६
दीपक गिरी— ९२३
चन्द्रमोहन यादव— ७६०
उपसभापति — समावेशी (१ पद)
विनोद चौधरी (विजयी)— १,७४५
जीवन परियार— १,६५८
फरमुल्लाह मन्सुर— १,१४४
सीता गुरूङ— १,११२
रञ्जित कर्ण— ५६२





