विराटचोकः नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशनमा उम्मेदवार बन्न चाहनेका लागि विभिन्न पदअनुसार शुल्क निर्धारण गरिएको छ ।
डा. शशाङ्क कोइराला नेतृत्वको महाधिवेशन आयोजक समितिअन्तर्गत तयार गरिएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि उम्मेदवारी शुल्क तोकिएको हो ।
निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति सदस्यका लागि ५० रुपैयाँ तोकिएको छ भने सबैभन्दा बढी केन्द्रीय सभापति पदका लागि ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।
आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले विभिन्न तहका उम्मेदवारका लागि निश्चित शुल्कको व्यवस्था गरिएको आयोजक पक्षले जनाएको छ ।
निर्देशिकाको अनुसूचीअनुसार वडा कार्यसमिति सभापतिका उम्मेद्वारले २५० रुपैयाँ बुझाउनुपर्नेछ । उपसभापति, सचिव र सहसचिवका लागि १५० रुपैयाँ तथा सदस्यका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।
प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि २५० रुपैयाँ निर्धारण गरिएको छ ।
गाउँपालिका कार्यसमिति सभापतिका लागि १ हजार रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि ५०० रुपैयाँ तथा सदस्यका लागि २५० रुपैयाँ शुल्क तोकिएको छ ।
नगरपालिका कार्यसमितिको सभापति पदका लागि २ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ, सहसचिवका लागि १ हजार रुपैयाँ तथा सदस्यका लागि ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
महानगर तथा उपमहानगर कार्यसमितिको सभापतिका लागि २ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि २ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ तोकिएको छ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका उम्मेद्वारले ३ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका उम्मेद्वारले २ हजार ५०० रुपैयाँ, सहसचिवका उम्मेद्वारले २ हजार रुपैयाँ र सदस्यका उम्मेद्वारले १ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५०० रुपैयाँ, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार रुपैयाँ, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० रुपैयाँ तथा केन्द्रीय महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
जिल्ला कार्यसमिति सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ३ हजार ५०० रुपैयाँ, सहसचिवका लागि ३ हजार रुपैयाँ तथा सदस्यका लागि १ हजार ५०० रुपैयाँ तोकिएको छ ।
प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार रुपैयाँ तथा सदस्यका लागि ३ हजार रुपैयाँ उम्मेद्वारी शुल्क तोकिएको छ ।
केन्द्रीय सभापतिको उम्मेद्वार बन्न ३० हजार रुपैयाँ तिर्नुपर्नेछ । उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।





