भोजपुरः पार्टीविरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले एक जना गाउँपालिका अध्यक्ष र ३ वडाध्यक्षलाई स्पष्टीकरण सोधेको छ ।
नेकपाको भोजपुर जिल्ला समितिले रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, भोजपुर नगरपालिका–१ का वडाध्यक्ष जिरामणि राई, टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज राई र षडानन्द नगरपालिका–३ का वडाध्यक्ष साङ्देम्बा राईलाई ७ दिने स्पष्टीकरण सोधेको हो ।
नेकपा स्रोतका अनुसार पार्टी छाड्ने तयारीसहित श्रम संस्कृति पार्टीका नेता–कार्यकर्तासँगको हिमचिम बढेको तल्ला कमिटीको रिपोर्टिङको आधारमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो ।
जिल्ला समिति संयोजक शरणकुमार तामाङ (रविन) द्वारा हस्ताक्षरित पत्रमा उनीहरूलाई पार्टीको अनुशासन र विधानविपरीत कार्य गरेको आरोप लगाइएको छ ।
सामाजिक सञ्जालमार्फत् पार्टी र मतदाताविरुद्ध अभिव्यक्ति दिएको, पार्टी सङ्गठनले आयोजना गरेका बैठक तथा कार्यक्रममा निमन्त्रणा गर्दा पनि नआएको, अन्य राजनीतिक दलको प्रचार र गोप्य बैठकमा सहभागी हुने गरेको र गत फागुनको चुनावमा आफ्नै दलका उम्मेदवारलाई हराउन अर्को दललाई सहयोग गरेको आरोप उनीहरूमाथि छ ।





