विराटचोकः महिलाको स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मोरङको सुन्दरहरैंचा–१०, विराटचोकमा निःशुल्क महिला स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको छ ।
नारीहरूको महान पर्व हरितालिका तीजको विशेष अवसरमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघको महिला उद्यम परिवारले शिविर आयोजना गर्न लागेको हो । शिविरमा महिलाको विभिन्न स्वास्थ्य समस्याको परीक्षण तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ ।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्त्री तथा प्रसूति रोगको परीक्षण तथा परामर्श प्रदान गरिने जनाइएको छ । महिलाहरूको स्तन स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तनसम्बन्धी रोगको परीक्षण तथा परामर्श, मूत्रसम्बन्धी समस्या, महिनावारी गडबडी, यौन तथा पाठेघरको मुखको संक्रमण, असामान्य सेतो पानी बग्ने, चिलाउने, दुख्ने तथा गन्हाउनेजस्ता समस्या, बाँझोपन, गर्भावस्थासम्बन्धी समस्या तथा अन्य स्वास्थ्य समस्या सम्बन्धमा परीक्षण र परामर्श दिइने जनाइएको छ ।
शिविरमा नोबेल टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गर्ने जनाइएको छ ।
भदौ २५ गते बिहीबार सुन्दरहरैंचा–१० स्थित सुकुना सामुदायिक हस्पिटल प्रालिको प्राङ्गणमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन हुने जनाइएको छ ।
महिला उद्यम परिवारले महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन र समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ। शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवा लिन सकिने आयोजकले जनाएको छ।
महिलाको प्रजनन स्वास्थ्य तथा क्यान्सरसम्बन्धी सचेतना र परीक्षणका यस्ता कार्यक्रमहरू मोरङ क्षेत्रमा विभिन्न संघसंस्थाले सञ्चालन गर्दै आएका छन्।





