महाकुलुङः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका तथा गाउँ शिक्षा खेलकुद विकास समितिको आर्थिक सहयोगमा छेस्काम माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा छेस्काम माध्यमिक विद्यालय पहिलो भएको छ ।
गुदेल माध्यमिक विद्यालय दोस्रो र सगरमाथा माध्यमिक विद्यालय तेस्रो भएको छ । पहिलो हुने विद्यालयलाई रनिङ शिल्ड, नगद ३० हजार रुपैयाँको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै दोस्रो र तेस्रो हुने विद्यालयहरूलाई क्रमशः नगद २५ हजार र २० हजार रुपैयाँको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा माविस्तरीय पुरुष र महिला भलिबल, एथलेटिक्स, कबड्डी लगायतका खेलहरू समावेश भएको गाउँपालिकाले जनाएको छ ।