काठमाडौंः सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ ।
रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिको दिन राष्ट्रिय शोकको घोषणा गरिएको हो । सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ ।
निर्णयमा भनिएको छ–
रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरूप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथिको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।





