Sunday, August 30, 2026
Homeशिक्षा र स्वास्थ्यसुन्दरहरैंचामा नगर शिक्षा योजना निर्माणका लागि सुझाव सङ्कलन

सुन्दरहरैंचामा नगर शिक्षा योजना निर्माणका लागि सुझाव सङ्कलन

विराटचोकः नगरको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यले नगर शिक्षा योजना निर्माणका लागि सुन्दरहरैंचा नगरपालिकाले सुझाव सङ्कलन गरेको छ ।

नगर शिक्षा शाखाले तयार पारेको प्रस्तावित सुझाव तथा योजनाका विषयवस्तुमाथि छलफल गर्दै नगरभित्रका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाबाट राय–सुझाव सङ्कलन गरिएको थियो ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष केदारप्रसाद गुरागाईं, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शालिग्राम दाहाल तथा पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँका उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्टा सहभागी हुनुहुन्थ्यो ।

नगरप्रमुख गुरागाईंले नगरको समग्र विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शालिग्राम दाहालले शिक्षा क्षेत्रमा सुधार ल्याउन स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक व्यवस्थापनलाई योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने धारणा उहाँको थियो ।

विशिष्ट अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. मरहट्टाले समयअनुकूल शिक्षा प्रणाली विकास गर्न स्थानीय आवश्यकतासँगै प्रविधि, अनुसन्धान, सीप तथा रोजगारसँग जोडिएको शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

छलफलमा सुन्दरहरैंचाका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले विद्यालयमा देखिएका समस्या, शिक्षक तथा विद्यार्थीका आवश्यकता, शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा, पूर्वाधार विकास, शिक्षक क्षमता अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि तथा अभिभावकको सहभागितालगायतका विषयमा सुझाव दिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments