इटहरीः स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति ७–ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३ को उपाधि पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहराले जितेको छ ।
अल स्पोर्टस कलेक्सनको आयोजनामा इटहरी–५, काव्यबाटिकास्थित पाथीभरा फुटसल प्रालिमा भएको प्रतियोगितामा सुनसरीका ३२ विद्यालय सहभागी थिए ।
प्रतियोगिताको फाइनलमा पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहरा र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ बीच प्रतिस्पर्धा भएको थियो ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि टाइब्रेकरमा पूर्वाञ्चलले सयपत्रीलाई ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
समापन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रम अल स्पोर्टस कलेक्सनका अध्यक्ष विमल मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा पूर्वाञ्चल सेकेन्डरी स्कुलका युनिस मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ३० हजार रुपैयाँबराबरको छात्रवृत्तिसहित अवार्ड प्राप्त गरे । यस्तै, उत्कृष्ट गोलरक्षक मुइक भुजेल र सर्वाधिक गोलकर्ता युनिस मगर घोषित भए । दुवैलाई जनही २ हजार ५ सयसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
सयपत्री स्कुलका पर्वत राई म्यान अफ द म्याच घोषित भए । उनले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । फेयर प्ले टिमको उपाधि हाम्रो इङ्लिस बोर्डिङ स्कुलले हात पार्दै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
राइजिङ प्लेयरको उपाधि हिमशिखर इङ्लिस स्कुलका केशव लिम्बूले प्राप्त गरे । उनलाई २ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका अवसरमा फुटसल तथा विद्यालयस्तरीय खेलकुद विकासमा योगदान पुर्याउँदै आएका प्रशिक्षक विमल मगरलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । मगरले सन् २०१६ मा च्यासल युथ क्लब, ललितपुरलाई शहीद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । एएफसी लाइसेन्स–२०१७ प्राप्त गरेका मगरले राष्ट्रिय लिग–२०८२ मा फ्रेन्ड्स क्लब, ललितपुरको प्रशिक्षकका रूपमा समेत काम गर्नुभएको थियो । उहाँ लामो समय राष्ट्रिय जागृति क्लब इटहरीका प्रशिक्षक पनि रहनुभएको थियो ।
सुनसरीका विभिन्न विद्यालयको सहभागितामा पाथीभरा फुटसलमा हुँदै आएको अन्तरविद्यालय ७–ए साइड फुटसल प्रतियोगितालाई चौथो संस्करणसम्म निरन्तरता दिन महत्वपूर्ण योगदान पुर्याएको भन्दै मगरलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले विद्यालयस्तरबाटै फुटसल खेलाडी उत्पादन तथा खेलकुदको विकासमा योगदान पुर्याउने आयोजकको विश्वास छ । आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिँदै थप विद्यालय तथा खेलाडीलाई सहभागी गराउने अध्यक्ष मगरले बताए ।
आयोजकले राष्ट्रिय खेलाडी आशिष राईको उपचारका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरेको छ ।





