कठमाडौंः चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् ।
हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो ।
सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ । संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भए पनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ ।