भोजपुरः पोखरी निर्माणपछि भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी निर्माणको काम अघि बढाएको थियो ।
वडाध्यक्ष कुमार थापाले बर्सेनि खडेरीका कारण कृषि उत्पादनमा गिरावट आउन थालेपछि योजनाबद्ध सिँचाइ पोखरी निर्माण गरिएको बताउनुभयो । हालसम्म यहाँ छ वटा पोखरी निर्माण गरिएका र त्यसबाट सिक्रेटार क्षेत्रका करिब १ हजार ५ सय रोपनी जमिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सिँचाइ सुविधा पुगेको उहाँले बताउनुभयो ।
निर्माण गरिएका पोखरीलाई सिँचाइमा मात्र सीमित नराखी बहुउपयोगी बनाइएको छ । आगलागीजस्ता विपद्का समयमा पानीको स्रोतका रूपमा प्रयोग गर्न सकिने गरी संरचना तयार गरिएको छ । साथै, पोखरीबाट खेतबारीसम्म पानी पुर्याउन वडाले पाइप वितरण गर्दै आएको छ । यसले किसानलाई सिँचाइ पहुँचमा सहज बनाएको छ ।
वडाको मैदानेमा दुई, दुंगेमा एक, सिक्रेटारमा एक र बेलटारमा दुई वटा पोखरी निर्माण सम्पन्न भएको र थप दुई वटा पोखरी निर्माणाधीन अवस्थामा रहेको बताइएको छ । विशेषगरी हिउँदे बाली उत्पादनमा यी पोखरीले प्रत्यक्ष प्रभाव पार्ने जनाइएको छ ।
हाल यहाँका किसान बदाम, फलफूल तथा तरकारी, आलु, प्याज, टमाटरलगायत नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । पोखरी निर्माणले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण र जैविक विविधता जोगाउन पनि सहयोग पुग्ने स्थानीय बताउँछन् ।





