काठमाडौंः विश्वकप फुटबल प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो खेल महोत्सव हो । विश्वकपको इतिहासमा धेरै महान् खेलाडीले आफ्नो असाधारण छाप छाडेका छन् । तीमध्ये सबैभन्दा प्रभावशाली १० खेलाडीको बारेमा खेलसम्बन्धी लेख्ने वेबसाइट गोल डटकमले सामग्री प्रकाशन गरेको छ ।
विश्वकपमा देखाएको समग्र प्रभाव, निरन्तरता र उपलब्धिका आधारमा सो वेबसाइटले तयार पारेको विश्वकप फुटबल इतिहासका १० सर्वश्रेष्ठ र प्रभावशाली खेलाडी यसप्रकार छन्ः
१०. मिरोस्लाभ क्लोजे (जर्मनी)
जर्मनीका मिरोस्लाभ क्लोजे क्लब फुटबलमा उत्कृष्ट स्ट्राइकर थिए । अन्तर्राष्ट्रिय फुटबलमा उनी झन् प्रभावशाली बने । उनले जर्मनीका लागि १३७ खेलमा ७१ गोल गरे, जसमध्ये १६ गोल विश्वकपमा आए । सन् २०१४ मा उनले ब्राजिलविरुद्धको ऐतिहासिक ७–१ को जीतमा गोल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने । लगातार चार विश्वकपको सेमीफाइनल खेल्ने पहिलो खेलाडीसमेत उनी हुन् ।
९. जिनेदिन जिदान (फ्रान्स)
विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली र प्रभावशाली खेलाडीमध्येका एक जिनेदिन जिदानले सन् १९९८ को विश्वकप फाइनलमा ब्राजिलविरुद्ध दुई गोल गर्दै फ्रान्सलाई पहिलो पटक विश्वविजेता बनाए । सन् २००६ मा उनले फ्रान्सलाई पुनः फाइनलसम्म पुर्याए, तर अन्तिम खेलमा प्रसिद्ध ‘हेडबट’ घटनापछि रातो कार्ड पाए । त्यसका बाबजुद उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
८. गर्ड मुलर (जर्मनी)
गोल गर्ने असाधारण क्षमता भएका गर्ड मुलर विश्व फुटबलका उत्कृष्ट ‘गोल–पोचर’ मानिन्छन् । उनले दुई विश्वकपमा १३ खेल खेल्दै १४ गोल गरे । सन् १९७४ को फाइनलमा नेदरल्यान्ड्सविरुद्ध विजयी गोल गर्दै उनले जर्मनीलाई विश्वकप उपाधि दिलाएका थिए ।
७. काफु (ब्राजिल)
ब्राजिलका महान् राइट–ब्याक काफुले चार विश्वकप खेले र तीनवटा फाइनलमा सहभागिता जनाए, जुन लामो समयसम्म कीर्तिमान रह्यो । उनले सन् १९९४ र २००२ मा विश्वकप जिते भने २००२ मा कप्तानका रूपमा टोलीलाई उपाधि दिलाए । अथक दौड, आक्रामक खेलशैली र नेतृत्वका कारण उनी विश्व फुटबलका उत्कृष्ट रक्षकमध्ये गनिन्छन् ।
६. फ्रान्ज बेकेनबावर (जर्मनी)
‘डेर काइजर’ उपनामले परिचित फ्रान्ज बेकेनबावरले ‘स्वीपर’ भूमिकालाई नयाँ उचाइमा पुर्याए । उनले लगातार तीन विश्वकप खेले र सन् १९७४ मा पश्चिम जर्मनीलाई विश्वविजेता बनाए । बहुआयामिक क्षमता, नेतृत्व र खेलबुझाइका कारण उनी फुटबल इतिहासका महान् डिफेन्डरमध्ये एक मानिन्छन् ।
५. किलियन एम्बाप्पे (फ्रान्स)
२७ वर्षकै उमेरमा किलियन एम्बाप्पेले विश्वकप इतिहासमा आफ्नो नाम अमिट बनाइसकेका छन् । सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताउँदा उनले चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको पुरस्कार जिते । २०२२ को फाइनलमा ह्याट्रिक गर्ने उनी इतिहासका दोस्रो खेलाडी बन । २०२६ को विश्वकपपछि उनी २२ गोलसहित विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।
४. रोनाल्डो (ब्राजिल)
‘ओ फेनोमेनो’ भनेर चिनिने ब्राजिलका रोनाल्डो आफ्नो समयका सबैभन्दा घातक स्ट्राइकर थिए । सन् १९९८ को विश्वकपमा रहस्यमय स्वास्थ्य समस्याका बाबजुद उनी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । त्यसपछि २००२ मा शानदार पुनरागमन गर्दै आठ गोलसहित ब्राजिललाई पाँचौँ विश्वकप उपाधि दिलाए ।
३. डिएगो म्याराडोना (अर्जेन्टिना)
सन् १९८६ को विश्वकप डिएगो म्याराडोनाकै नाममा रह्यो । अर्जेन्टिनाले गरेको १४ गोलमध्ये १० गोलमा उनको प्रत्यक्ष योगदान थियो । इंग्ल्यान्डविरुद्धको ‘ह्यान्ड अफ गड’ गोल र त्यसपछि गरेको अद्भुत व्यक्तिगत गोल विश्वकप इतिहासका सबैभन्दा चर्चित क्षणमध्ये पर्छन् । विवादका बाबजुद उनको विश्वकप योगदान अतुलनीय मानिन्छ ।
२. लियोनेल मेस्सी (अर्जेन्टिना)
लियोनेल मेस्सीले सन् २०२२ को कतार विश्वकप जितेर आफ्नो महानताको बहसलाई नयाँ उचाइमा पुर्याए। उनी विश्वकप इतिहासमा समूह चरणदेखि फाइनलसम्म प्रत्येक नकआउट चरणमा गोल गर्ने पहिलो खेलाडी बने । उनले दुई पटक ‘गोल्डेन बल’ जितेका छन्, जुन आफैंमा कीर्तिमान हो । त्यसपछि पनि उनले अन्तर्राष्ट्रिय फुटबललाई निरन्तरता दिँदै अर्जेन्टिनालाई अर्को विश्वकप फाइनलसम्म पुर्याए ।
१. पेले (ब्राजिल)
विश्वकप इतिहासका सर्वश्रेष्ठ खेलाडीका रूपमा पेले पहिलो स्थानमा छन । उनी तीन पटक (१९५८, १९६२ र १९७०) विश्वकप जित्ने इतिहासकै एकमात्र खेलाडी हुन् । सन् १९५८ मा मात्र १७ वर्षको उमेरमा उनले सेमीफाइनलमा ह्याट्रिक र फाइनलमा दुई गोल गर्दै विश्वलाई आफ्नो प्रतिभाको परिचय दिएका थिए । सन् १९७० मा पनि उनले ब्राजिलको ऐतिहासिक टोलीलाई नेतृत्व गर्दै विश्व फुटबलमा आफ्नो महानता स्थापित गरेका थिए ।
विश्वकप इतिहासमा गारिन्चा, रोमारियो, पाओलो माल्दिनी, लोथार म्याथाउस, जोहान क्रुइफ, मिशेल प्लाटिनी, बबी मुरलगायतका धेरै महान् खेलाडीको योगदान पनि अविस्मरणीय छ । यद्यपि विश्वकपमा समग्र प्रभाव, उपलब्धि र निरन्तरताका आधारमा गोल डटकमले तयार पारेको यस सूचीमा पेलेलाई पहिलो र लियोनेल मेस्सीलाई दोस्रो स्थानमा राखिएको छ ।





