विराटचोकः देशभर मनसुनको प्रभाव बढेसँगै आज देशका धेरै स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ ।
महाशाखाका अनुसार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर बदली भएको छ ।
अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बदली हुनेछ ।
महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर अधिकांश बदली हुने तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।





