विराटचोकः आज बिहान एटलान्टा स्टेडियममा इंग्ल्याण्डलाई २–० गोलले पराजित गरेपछि अर्जेन्टिनाले गरेको क्रियाकलापका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कारबाही गर्ने जोखिम बढेको बीबीसी स्पोट्र्सले लेखेको छ ।
अर्जेन्टिनी खेलाडीहरूले फकल्याण्ड टापु आफ्नो देशको रहेको दाबी गरिएको नारा उल्लखित ब्यानर प्रदर्शन गरेका थिए । अर्जेन्टिनाले सो टापुलाई माल्भिनास भन्छ । टापुमाथिको दाबीलाई समर्थन गर्दै ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् माल्भिनास अर्जेन्टिनाकै हो लेखिएको ब्यानर प्रदर्शन गरेपछि विवाद चुलिएको हो ।
खेलाडीहरूले मैदानमै उक्त राजनीतिक सन्देशसहितको ब्यानर बोकेर उत्सव मनाएका थिए । फकल्याण्ड टापु दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायतको विदेशी भूभाग हो । तर अर्जेन्टिनाले यसलाई आफ्नो भूमि भएको दाबी गर्दै आएको छ । यही विवादका कारण सन् १९८२ को अप्रिलदेखि जुनसम्म ७४ दिन लामो युद्ध भएको थियो । जसमा ६५५ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक तथा टापुका तीन बासिन्दाको मृत्यु भएको थियो ।
यसअघि पनि यस्तै घटनामा फिफाले अर्जेन्टिनालाई कारबाही गरेको थियो । सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि अर्जेन्टिनी खेलाडीहरूले यही सन्देश भएको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो ।
सेमीफाइनल जीतपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्समा सैनिकहरूको भिडियो साझा गर्दै माल्भिनास अर्जेन्टिनाकै हो भनेर लेखेकी छिन् ।





