विराटनगरः विराटनगरस्थित आर्या न्युरो हस्पिटलले मेरुदण्ड (स्पाइन) सम्बन्धी रोगहरूको उपचारलाई थप आधुनिक, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यले दुर्बिन (एन्डोस्कोप) प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा शुरु गरेको छ ।
अस्पतालले पछिल्लो समय विश्वमा प्रचलित ‘यु–भी–ई’ (UVE – Unilateral Biportal Endoscopic Discectomy) प्रविधि भित्र्याएको हो । यस प्रविधिमा विशेष क्यामेरा (एन्डोस्कोप) र सूक्ष्म शल्य उपकरणको प्रयोग गरी मेरुदण्डको जटिल शल्यक्रिया गरिने अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. पंकजराज नेपालले जानकारी दिनुभयो ।
यो प्रविधि मेरुदण्डको उपचारमा निकै प्रभावकारी र बिरामीमैत्री रहेको बताउँदै सो प्रविधिमा दुई वटा साना (करिब ८ एमएमका) प्वाल बनाएर दुर्बिन छिराएर मेरुदण्डमा नसा च्यापिएको ठाउँमा पुगेर त्यसलाई रिलिज गरिने उहाँले बताउनुभयो ।
डा. नेपालका अनुसार यो निकै विकसित प्रविधि हो, जसमा म्याग्निफिकेसन (दृश्यलाई ठूलो पारेर हेर्ने क्षमता) धेरै राम्रो हुने भएकोले शल्यक्रिया अत्यन्तै सुरक्षित हुन्छ । परम्परागत खुला शल्यक्रिया (ओपन सर्जरी) को तुलनामा यो प्रविधिका धेरै फाइदा रहेको उहाँ बताउनुहुनछ ।
उहाँका अनुसार यो विधिबाट शल्यक्रिया गर्दा घाउ सानो हुने, रक्तस्राव कम हुने र संक्रमणको जोखिम कम हुन्छ । बिरामी छिटो निको हुने हुनाले शल्यक्रिया गरेको १–२ दिनमै बिरामी घर जान सक्छन् र चाँडै हिँडडुल गर्न सक्ने उहाँ बताउनुहुन्छ ।
साइटिका, नसामा दबाब पर्ने समस्या, डिस्क खस्किने तथा मेरुदण्डका विभिन्न रोगहरूको उपचारमा एन्डोस्कोपिक स्पाइन सर्जरी प्रभावकारी विकल्पका रूपमा स्थापित भएको डा. नेपाल बताउनुहुन्छ ।





