विराटचोकः आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा नियुक्त गरेको छ । प्रेस रजिष्टारमा लीलाराज भट्टराई नियुक्त हुनुभएको छ ।
कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम उहाँहरूलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।
प्रेस रजिस्ट्रार सिफारिश समितिको सिफारिशका आधारमा मन्त्रिपरिषद् बैठकले प्रेस रजिस्ट्रारमा भट्टराईलाई नियुक्त गरेको हो । सो पदका लागि ९ जनाले आवेदन दिएकामध्ये ७ जना अन्तर्वार्तामा सहभागी भएका थिए । अन्तरवार्तामा भट्टराईसहित गोपाल काफ्ले, देवेन्द्र कार्की, बन्धु पोखरेल, नेत्रप्रसाद अधिकारी, अमृत बाँस्तोला र प्रभासचन्द्र झा सहभागी थिए ।
सोही मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका ७ सदस्यहरू पनि नियुक्त गरी प्रतिष्ठानलाई पूर्णता दिएको छ । जसअनुसार सदस्यहरूमा शान्ति दाहाल (मोरङ), ध्रुव ढकाल (सुनसरी), रमेशचन्द्र अधिकारी (धनकुटा), अर्जुन राजवंशी र विष्णुप्रसाद पोखरेल (झापा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर) हुनुहुन्छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष पदेन गरी प्रतिष्ठानमा ११ सदस्य हुने व्यवस्था छ ।
सो प्रतिष्ठानले मुख्यगरी कोशी प्रदेशमा सञ्चालन हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमको दर्ता, नवीकरण, अनुगमन तथा अभिलेखीकरण, सञ्चार माध्यमको विकास र प्रवद्र्धन तथा कोशी प्रदेशका पत्रकार र प्रदेशभित्रका सञ्चार माध्यममा रहेका जनशक्तिको हित वृद्धि गर्ने काम गर्ने बताइएको छ ।





