विराटचोकः नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र बाँकी हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वषा र हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुर पश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
गत २४ घण्टामा ताप्लेजुङको तापेथोकमा सर्वाधिक ८८.४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो एक घन्टामा बाँकेको सानो श्री चेपाङ मापन केन्द्रमा सर्वाधिक ३३.२ मिलिमिटर वर्षा भएको छ । झापाको शनिश्चरेमा १२.४ मिलिमिटर वर्षा भएको छ ।





