विराटनगरः कीर्तिपुरको होल्डिङ सेन्टरमा शनिबार भएको जेनजी अभियन्ता पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धर्ना बसेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्यालयको मूल गेटमै धर्नामा बसेकालाई सम्झाइबुझाइ गर्दा पनि नमानी प्रहरीको काम कारबाही तथा सवारी साधन आवतजावतमा बाधा पुर्याएका कारण उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा अमेरश माली, कृष्ण यादव, मो. दिल, मो. अकबर, रोहित सहनी, मोहमद सहनी, मोहमद अफरोज, अंकित राजवंशी, आसिफ उमर, चाँद चाहिद, अफताव सेख, अरमान सेख, दिपेशकुमार राय, रिहान सेख, मेहबुब आलम, सारुखान शर्मा, तौफिक उमर, आसिफ सेख, सचिनकुमार मण्डल, मो. जम्सेद आलम, अस्लम समी, प्रियान्सकुमार कर्ण, फरन खान, अमिर जमाली, मो. सिन आलम, अन्जर खान र सकी आलम छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
शनिबार कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीको अवस्था बुझ्न गएका जेन्जी मुभमेन्ट अलायन्सका प्रतिनिधिहरू माजिद अन्सारी, सरिस्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तीमध्ये सरिश्मा र नहेन्द्रलाई प्रहरीले छाडिसकेको छ भने माजिदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
सो घटनाको विरोधमा मोरङका युवा प्रहरी कार्यालयअघि धर्नामा बसेका थिए ।





