दिक्तेलः खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय स्तरमा परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोको ‘तीनपाने’ मदिरालाई ब्रान्डिङ र लेबलिङ गरी नयाँ व्यावसायिक पहिचान दिएको छ ।
नगर प्रमुख विमला राईको विशेष पहलमा शुरु भएको सो अभियानले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । नगरपालिकाले यसअघि नै महिला आमा समूहहरूलाई कोदोको तीनपाने बनाउने तालिमका साथै आवश्यक परम्परागत सामग्रीहरू वितरण गरेको थियो ।
तालिमप्राप्त व्यक्तिले बनाएको सो मदिराको गुणस्तर, शुद्धता र अल्कोहलको मात्रामा एकरूपता ल्याउन नगरपालिकाले दुईवटा होमस्टेहरूसँग विशेष सम्झौता गर्दै १० थान अल्कोहल मापन गर्ने मेसिन र १८ हजार थान तीनपानेका बोतलहरू निःशुल्क हस्तान्तरण गरेको छ ।
नगरपालिकाले तोकेको मापदण्डअनुसार, ‘हलेसी सांस्कृतिक कोसेली’ नाम दिइएको यो मदिरा पूर्णतः परम्परागत विधिबाट मात्र उत्पादन गरिने भएको छ । यसमा आधुनिक प्रविधिको प्रयोग निषेध गरिएको छ भने मदिरा बनाउन तामा र माटोका भाँडाबाहेक पित्तल, स्टिल वा सिलबरका सामग्री प्रयोग गर्न बन्देज लगाइएको छ ।
त्यसैगरी, उत्पादनको शुद्धता कायम राख्न कोदोको भुस फालेर वा धोएर मात्र जाँड पकाउने र पकाएको एक महिनापछि मात्र तीनपाने निकाल्ने नियम बनाइएको छ । यसरी तयार पारिएको मदिरामा अल्कोहलको मात्रा ४५ प्रतिशत हुनुपर्ने र परम्परागत विधिको कारण ४ देखि ५ प्रतिशतसम्मको तलमाथि हुन सक्ने गरी मान्यता दिइएको छ । नगरपालिकाले निरन्तर अनुगमन गर्ने र तोकिएको स्टिकर तथा सिल नतोडिएको बोतललाई मात्र मान्यता दिने व्यवस्था मिलाएको जनाइएको छ ।
कानुनी जटिलताका कारण ‘हलेसी सांस्कृतिक कोसेली’ नामको यो मदिरा व्यावसायिक रूपमा बिक्री गर्न नपाइने भए पनि होमस्टेहरूमा कोसेलीको रूपमा उपलब्ध गराइएको छ । यसबाट स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने र घरेलु मदिरालाई कानुनी मान्यता दिलाउन सरकारलाई नीति निर्माण गर्न दबाब सिर्जना हुने नगरपालिकाको विश्वास रहेको नगरप्रमुख राई बताउनुहुन्छ ।
सो उत्पादनको स्वाद लिन र कोसेलीका रूपमा लैजान पर्यटकहरूले हलेसी भ्रमण गर्ने र जसका कारण स्वदेशी उत्पादनको जगेर्ना गर्न नगरपालिकाले चालेको कदमलाई सहयोग पुग्ने विश्वास गरिएको पालिकाले जनाएको छ ।





