धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इतिहासमा पहिलो पटक महिला उपकुलपति नियुक्त हुनुभएको छ । सरकारले हिजो प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्कीलाई नियुक्त गरेको हो ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिशका आधारमा विराटनगर माइती र झापा घर भएकी डा. कार्कीलाई उपकुलपति नियुक्त गर्नुभएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी अध्ययन पूरा गरी सोही संस्थाको प्याथोलोजी विभाग प्रमुख तथा प्राध्यापकका रूपमा लामो समय काम गरेकी कार्कीले प्रतिष्ठानको कार्यकारी समिति सदस्यको जिम्मेवारीसमेत निर्वाह गरेको अनुभव छ ।
चिकित्सा सेवा, चिकित्सा शिक्षा, अनुसन्धान तथा संस्थागत व्यवस्थापनमा लामो अनुभव हासिल गरेकी डा. कार्की प्रतिष्ठानभित्र विद्यार्थीदेखि विभागीय नेतृत्व र प्रशासनिक जिम्मेवारीसम्म पुगेर सक्षम प्रशासकका रूपमा स्थापित हुनुहुन्छ ।
यसपटक सरकारले उपकुलपति नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत् छनोट प्रक्रिया अघि बढाएको थियो । प्रतिष्ठानको उपकुलपति पदका लागि १६ जना वरिष्ठ चिकित्सक तथा प्राध्यापकले आवेदन दिएका थिए ।
यसरी आवेदन दिनेमा प्रा.डा. सुनिल ढुङ्गेल, प्रा.डा. शिवेन्द्र झा, प्रा.डा. गौरीशंकर साह, प्रा.डा. पशुपति चौधरी, प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. राजु रिजाल, प्रा.डा. स्मृति कार्की, प्रा.डा. अचला ठाकुर, प्रा.डा. रविन मास्के, प्रा.डा. प्रकाश पौडेल, प्रा.डा. विद्यानाथ यादव, प्रा.डा. दिलीप ठाकुर, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. राजेश नेपाल रहेका थिए ।





