विराटचोकः न्यायिक समिति सुन्दरहरैंचाले उत्कृष्ट कार्यसम्पादन गर्ने वडा मेलमिलाप केन्द्रलाई सम्मानित गरेको छ ।
कार्यक्रममा २५ हजार नगदसहित उत्कृष्ट मेलमिलाप केन्द्रको सम्मान वडा नं. ११ लाई प्रदान गरिएको थियो । १० हजार नगदसहित कुशल विवाद मेलमिलाप केन्द्रको सम्मान वडा नं. ८ लाई प्रदान गरिएको थियो । कार्यक्रममा मेलमिलापकर्ताहरूलाई ज्याकेट, झोला, क्यापलगायत आवश्यक सामग्री पनि वितरण गरिएको थियो ।
नगरप्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुरागाईले साना–तिना विवाद स्थानीय स्तरमै समाधान हुने भएकाले अदालत धाइरहनुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको बताउनुभयो ।
न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख अकली चौधरीले मेलमिलाप केन्द्रहरूलाई आवश्यक बजेट, तालिम र स्रोतसाधन उपलब्ध गराई थप प्रभावकारी बनाइने तथा मेलमिलापकर्तालाई उत्प्रेरित गर्न उत्कृष्ट केन्द्रलाई सम्मान गर्ने कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउनुभयो ।
उपप्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यायिक समिति सदस्य रोशन उप्रेती र कैलाश बस्नेतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उजुरी प्रशासक निरज न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य कैलाश बस्नेतले राख्नुभएको थियो ।





