Thursday, July 9, 2026
Homeखेलकुदयी हुन् क्वाटरफाइनलमा पुग्ने ८ टोली, यस्तो छ अबको प्रतिष्पर्धा

यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ टोली, यस्तो छ अबको प्रतिष्पर्धा

विराटचोकः फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा पुग्ने टिमको टुङ्गो लागेको छ ।

क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १–१ टिम मात्र पुगेका छन् ।

पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा अन्तिम १६ बाटै बाहिरिएका छन् । पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरिएको छ ।

साविक विजेता अर्जेन्टिनासहित पूर्व विजेताहरु फ्रान्स, स्पेन र इंग्ल्यान्डले पनि अन्तिम ८ मा स्थान बनाएका छन् ।

यस संस्करणमा कीर्तिमानी पाँच पटकको विजेता ब्राजिल पराजित हुँदै बाहिरियो । नर्वे र मोरक्कोले पनि भई बाहिरियो ।

मोरक्कोले सहआयोजक क्यानडालाई ३–० ले हराएर लगातार दोस्रो पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान बनायो । चार वर्षअघि मोरक्कोले सेमीफाइनल पुग्दै इतिहास रचेको थियो ।
घरेलु मैदानमा इतिहास रच्दै नकआउट चरण पुगेको क्यानडाको यात्रा अन्तिम १६ मै सकियो ।

साविक उपविजेता फ्रान्सले पाराग्वेलाई १–० ले हरायो । ब्राजिललाई २–१ ले हराएर नर्वेले पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो । ब्राजिल भने ३६ वर्षपछि विश्वकपमा क्वाटरफाइनल पुग्न असफल रह्यो ।

उता, इंग्ल्यान्डले रोमाञ्चक खेलमा १० खेलाडीमा सीमित रहँदा पनि सहआयोजक मेक्सिकोलाई ३–२ ले हरायो । खेलको अतिरिक्त समयमा स्पेनले गोल गरी पोर्चुगललाई १–० को झिनो अन्तरले हरायो ।

आयोजक अमेरिका बेल्जियमसँग घरेलु मैदानमै ४–१ ले पराजित भयो । साविक विजेता अर्जेन्टिनाले अफ्रिकी राष्ट्र इजिप्टलाई पराजित गर्याे । स्वीट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।

यस्तो छ क्वाटरफाइल 
क्वाटरफाइनलको पहिलो खेल साविक उपविजेता फ्रान्स र २०२२ मा सेमीफाइनलसम्म पुगेको मोरक्कोबीच हुनेछ । यी दुई टोली चार वर्षअघि कतारमा सेमीफाइनलमा भिडेका थिए । सो खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।

सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनलमा खेल्नेछ । स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेका हुन् । सन् २०१० मा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलो पटक क्वाटरफाइनल पुगेको हो । सन् २०१८ मा चौथो भएको बेल्जियम सन् २०२२ मा समूह चरणभन्दा अघि बढ्न सकेको थिएन ।

पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डको सामना गर्नेछ । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । सन् १९६६ को विजेता इंग्ल्यान्ड भने त्यसयता फाइनल पुग्न सकेको छैन ।

साविक विजेता अर्जेन्टिनाले स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । १९ औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले ६ पटक फाइनल खेल्दा ३ पटक विश्वकप उपाधि जितेको छ । स्वीट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

गोल्डेन बुटको मुख्य दाबेदारमा तीन खेलाडी
खेलाडीहरुबीच व्यक्तिगत अवार्डको रुपमा रहने गोल्डेन बुटको लागि पनि तीव्र प्रतिस्पर्धा भइरहेको छ । सबैभन्दा धेरै गोल गर्ने खेलाडीले यो अवार्ड पाउँछन् ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी ८ गोलसहित सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । फ्रान्सका कप्तान किलियन एमबाप्पे र नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले समान ७ गोल गरेका छन् ।

मेसी र हालान्डले यस विश्वकपका सबै खेलमा गोल गरेका छन् । इंग्ल्यान्डका कप्तान ह्यारी केनले ६ गोल गरेका छन् ।

क्वाटरफाइनल खेलः
पहिलो खेल फ्रान्स र मोरक्कोबीच असार २६ गते बिहान १ः४५ बजे, बोस्टन स्टेडियममा

दोस्रो खेल स्पेन र बेल्जियमबीच असार २७ गते बिहान १२ः४५ बजे, लस एन्जल स्टेडियममा

तेस्रो खेल नर्वे र इंग्ल्यान्डबीच असार २८ गते बिहान २ः४५ बजे, मायमी स्टेडियममा

चौथो खेल अर्जेन्टिना र स्वीट्जरल्यान्डबीच असार २८ गते बिहान ६ः४५ बजे, कान्सास सिटी स्टेडियममा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments