विराटचोकः मोरङको सुन्दरहरैंचाको विराटचोकमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयमा राष्ट्रिय धान दिवसको अवसरमा विविध कार्यक्रम भएको छ । सुविजीमुर बाल क्लबले समूहगत सांस्कृतिक नृत्य प्रतियोगिता–२०८३ आयोजना गरेको थियो ।
सो प्रतियोगितामा विद्यालयका विभिन्न समूहका विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति, कृषि परम्परा तथा राष्ट्रिय पहिचान झल्कने आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्द कार्कीले विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै संस्कार, संस्कृति र व्यावहारिक शिक्षामा जोड दिँदै आएको बताउनुभयो ।
उहाँले राष्ट्रिय पर्व तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, सिर्जनशीलता र सामुहिक कार्य गर्ने भावना विकास हुने उल्लेख गर्दै यस्ता गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
समूहगत सांस्कृतिक नृत्य प्रतियोगितामा ग्रुप एल पहिलो, ग्रुप जी दोस्रो, ग्रुप ई तेस्रो, ग्रुप एच चौथो तथा ग्रुप के पाँचौँ (सान्त्वना) स्थान हासिल गर्न सफल भएका थिए ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र सान्त्वना स्थान ल्याउने समूहलाई ट्रफी र प्रमाणपत्रका साथमा क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार, १ हजार ५०० र १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।




