विराटचोकः स्मृति बोर्डिङ स्कुल बुढीगंगा, मोरङले आयोजना गरेको मोरङ जिल्लास्तरीय वादविवाद प्रतियोगितामा सुन्दरहरैंचाका साजीलाल माध्यमिक विद्यालय र जुपिटर इङ्लिस स्कुल पहिलो र दोस्रो भएका छन् । साजीलालकी आरती पक्षतर्फ पहिलो र जुपिटरकी प्रगति अधिकारी विपक्षतर्फ दोस्रो भएका छन् । प्रतियोगितामा पक्षतर्फ पहिलो, दोस्रो र तेस्रो तथा विपक्षतर्फ पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको थियो ।
‘सामाजिक सञ्जालको प्रयोगः नवीनतम ज्ञानको खोजी कि समयको दुरुपयोग’ शीर्षकमा भएको वादविवादमा पक्षबाट साजीलालकी अधिकारी र विपक्षबाट एभेरष्ट माविका अभिनव बस्नेत पहिलो भएका हुन् । उनीहरुले जनही १५ हजार रुपैयाँ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
त्यस्तै, पक्षबाट डिएभी स्कुल विराटनगरकी सेजल मेहता र विपक्षबाट जुपिटर सेकेन्डरी स्कुलकी प्रगति अधिकारी दोस्रो भएर जनही नगद १३ हजार रुपौयँका साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात पारे ।
त्यसैगरी, पक्षबाट रेडस्टार माविकी सन्ध्या खड्का र विपक्षबाट आदर्श माविका आदर्श बरालले जनही नगद ११ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रत्येक वर्ष माघ ९ गते हुने सो प्रतियोगितामा यस पटक मोरङका ११ पालिकाबाट ३७ विद्यालय सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायकमा साहित्यकार सुबिन भट्टराई, प्राध्यापक भेषजा काफ्ले र सिस्नोपानी नेपालका सचिव सरोज घिमिरे रहेका थिए ।