महेश आचार्य
सुन्दरहरैँचा नगर अस्पतल भनी सुन्दरहरैँचा १ हरैँचामा स्थापना गरिएको अस्पतालले एउटा पूर्ण अस्पतालको रुप दिन लागि परेको देखिन्छ । नगरवासीलाई पायक पर्ने ठाउँमा स्थानीय सरकार वा अन्य कुनै सरकारबाट स्वास्थ्य सेवा पाउनु नगरवासीको लागि गौरवको कुरा हो ।
सो अस्पतालले सुन्दरहरैँचा नगरवासी भन्दा अन्य पालिकाका जनताको बढी सेवा पुर्याउने गरेको छ । स्वास्थ्यजस्तो आकस्मिक सेवा लिनुपर्ने अस्पताल धेरै नगरवासीको लागि अपायक रहेको ठाउँमा स्थापना भएको भए पनि अन्य पालिकाका बिरामीहरुले पनि सेवा लिइरहनु भएको हँुदा सुन्दरहरैँचावासी हर्षित नै छौँ ।
मैले नगर अस्पतालबाट सेवा लिने अठोट गरी माघ ९ गते अस्पताल पुगेँ । अस्पतालमा भएको अवश्यक पर्ने सबै सेवा लिएँ । सेवा प्रवाहमा कुनै नभएको अनुभूति पनि केही विषयमा पुरानै शैली देखेँ । तथापि ती शैली पनि सुधार हुनेमा आशावादी छु ।
सो अस्पतालमा तत्काल सुधार गर्नुपर्ने केही बुँदा यहाँ प्रस्तुत गरेको छु ।
१. डाक्टरबाट सिफारिश भएका औषधी सकेसम्म अस्पतालमै पाइने व्यवस्था गरौं ।
२. अस्पताल भर्ना गरिएका बिरामीहरुको लागि ओढ्ने कपडा अस्पतालबाट नै उपलब्ध गराऔँ ।
३. यथाशीघ्र बजेटको व्यवस्थापन गरी इमर्जेन्सी भवन र बिरामी भर्ना गरिएका वार्डहरुमा मार्बल टायल्स लगाई सरसफाइमा पूर्ण ध्यान दिऔँ ।
४. धेरै महङ्गा औषधी सेवन गर्ने मिति समाप्त भई नष्ट गरिएको देखेको हुँदा त्यसतर्फ विशेष ध्यान दिऔँ ।
५.अस्पताल वरपर सवारी पार्किङलाई व्यवस्थित गरौँ ।
६. स्वास्थ्य सेवा दिने क्रममा अन्यत्रजस्तो ढिलासुस्ती नगरौं ।
७. विभिन्न सरकारी कार्यालयको जनसेवामा देखिने लाचारीपन नगरअस्पतालमा नदेखाऔँ ।
करीब २ घण्टाको बसाइमा मैले देखेका र भोगेका समस्यालाई एक सचेत नगरवासीको रुपमा सार्वजनिक गरेको छु । सम्बन्धित पक्षले यसमा ध्यान दिने अपेक्षा लिएको छु ।