विराटचोकः क्युएए प्रमाणपत्र प्राप्त मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा ‘शैक्षिक संस्था र उद्योगबीचको सहकार्यः सुदृढ तथा लचिलो जनशक्ति विकास’ विषयक दुई दिवसीय शैक्षिक–उद्योग संवाद कार्यक्रम सम्पन्न भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमशीलता प्रवद्र्धन तथा बजारको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादनका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा शिक्षा, उद्योग, बैंकिङ, उद्यमशीलता तथा विभिन्न सरोकारवाला क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।
डा. अन्जयकुमार मिश्र, प्रा. डा. बिजु थपलिया, नरोत्तम अर्याल तथा बद्रीकुमार गुरागाईं लगायतले शिक्षा र उद्योग क्षेत्रबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने उपायबारे आफ्ना धारणा राख्नुभएको थियो । क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले वर्तमान समयमा शैक्षिक संस्थाहरूले उद्योग क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै विद्यार्थीलाई व्यवहारिक, रोजगारमुखी तथा उद्यमशील शिक्षासँग जोड्न आवश्यक रहेको बताउनुभएको थियो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यस्ता संवाद कार्यक्रमले शिक्षा क्षेत्रलाई समयसापेक्ष बनाउन तथा उद्योगको आवश्यकता अनुरूप जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय उद्योगी–व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, छिमेकी क्याम्पसका प्राध्यापक तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।




