विराटचोकः मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसले वार्षिक खेलकुद प्रतियोगितामा विजयी हुने २३० जना विद्यार्थीलाई हिजो एक कार्यक्रमका बीच पुरस्कार वितरण गरेको छ ।
अतिरिक्त क्रियाकलाप उपसमिति सुकुना बहुमुखी क्याम्पसको आयोजनामा भएको कार्यक्रममा दिइएको पुरस्कारका खेल प्रतियोगिता भने गत माघमा भएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।
फुटबल, क्रिकेट, बास्केटबल, फुटसल, सटपुट तथा छात्र–छात्रा भलिबल, दौड लगायतका खेलमा विजयी हुने टिम तथा खेलाडीलाई नगद, प्रमाणपत्र र पदक प्रदान गरिएको हो ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापसँग जोड्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति एलिस ओझाले विद्यार्थीलाई प्रदान गरिने सेवा सुविधालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक जनार्दन गुरागाईंको सभापतित्वमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।




