धरानः पूर्व वडाध्यक्ष धनबहादुर राईलाई श्रम संस्कृति पार्टीले आगामी स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेद्वार बनाउने घोषणा गरेको छ । सो पार्टीले हालै पार्टी प्रवेश गरेका सुदन किरातीलाई प्रदेशको मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।
आज श्रम संस्कृतिले राईलाई मेयरमा अघि सार्ने घोषणा गरेको हो । राई धरान उपमहानरपालिका–४ का पूर्ववडाध्यक्ष हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित भए पनि स्वतन्त्र उम्मेद्वारी दिएर मेयर पदमा जितेका हर्क साम्पाङलाई राईले सघाउँदै आएका थिए ।
धरानमा साम्पाङलाई साथ दिने उनै एक्ला वडाध्यक्ष साम्पाङको श्रम अभियानमा पनि जोडिँदै आएका थिए । त्यसपछि एमालेले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि वडाध्यक्ष पदबाट राजीनामा दिएर गत फागुन १६ गते राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।
श्रम संस्कृति पार्टीबाट धरानको मेयरमा दिनेश राई, निनाचन्द्र राई र सुमन श्रेष्ठ पनि आकांक्षी थिए ।




