लेटाङः कोशी प्रदेशस्तरीय “छौखा साकेन्वा रनिङ शिल्ड महिला तथा पुरुष पालिका भलिबल प्रतियोगिता” मा ऐतिहासिक सफलता हासिल गर्दै महिलातर्फको उपाधि जित्न सफल लेटाङको महिला भलिबल टिमलाई लेटाङ नगरपालिकाले सम्मान गरेको छ ।
प्रतियोगिताको फाइनलमा आयोजक आमचोकलाई पराजित गर्दै लेटाङले नगद २ लाख रुपैयाँ पुरस्कार जितेको हो ।
विजेता टोलीलाई सोमबार आयोजित सम्मान कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख तथा खेलकुद विकास समिति संयोजक कृष्णकुमारी निरौलाले सम्मान गर्दै महिला खेलाडीहरूको उपलब्धि प्रशंसा गर्नुभयो । प्रतियोगिताको फाइनलमा व्यक्तिगत स्तरमा लीला लिम्बू उत्कृष्ट खेलाडी घोषित भइन् भने स्मृति राई उत्कृष्ट डिफेन्डर र पूर्णिमा लिम्बू उत्कृष्ट सेटरको रूपमा सम्मानित भइन् । प्रतियोगितामा प्रदेशका विभिन्न पालिकाबाट महिला टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
उपाधि जितेसँगै १८१ किलो चाँदीबाट निर्मित रनिङ शिल्ड लेटाङले जितेको थियो । लगातार तीन पटक उपाधि जितेमा सो शिल्ड स्थायी रूपमा आफ्नो बनाउन सकिने बताइएको छ ।
टिम व्यवस्थापक जीतबहादुर लामाले टोलीको सफलता अभ्यास, अनुशासन र खेलाडीहरूको मिहिनेतको परिणाम भएको बताउँदै आगामी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।




