विराटचोकः आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेस प्रदेशसहित बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।
सुदूर पश्चिम र लुम्बिनीका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो हावा चल्ने
सुदूर पश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा अन्य पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।




