Sunday, May 24, 2026
Homeसमाचारबाढीपहिरोले पाँचथरमा चार परिवार विस्थापित

बाढीपहिरोले पाँचथरमा चार परिवार विस्थापित

फिदिमः पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका– १ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोले घर बगाएपछि याङवरक– १ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गंगाप्रसादको ६ जनाको परिवार उनका दाजु दुर्गा बेघाको घरमा बसेको बताइएको छ । सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका ६ जना विस्थापित भएको प्रहरीले जनाएको छ ।

उता, कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङ, एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर जोखिममा रहेको बताइएको छ ।

बाढीले लामिटारबाट चाम्लिङडाँडा जोडने झोलुङ्गे पुल र याङवरक– २ दोभानेसिथत झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । बाढीले निर्माणाधीन दुई सडकका पुल बगाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका– २ दोभानेमा मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो पुल बाढीले बगाएको हो । त्यहाँ निर्माणाधीन पुलका साथै सडक र डाइभर्सनसमेत बगाएका कारण यातायात पूर्ण रूपमा अवरुद्ध रहेको बताइएको छ ।

तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचना पनि बाढीले बगाएको छ । याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन, फलामे पाइपलगायत सामग्री बगाएको हो ।
पहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्ग ओयाम बजार र रिजाल भीर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

याङवरक– ४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ । बाढी र पहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुगेको बताइएको छ ।

त्यसैगरी, याङवरक– २ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ । पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित इंवाखोलामा रहेको इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ । पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित काबेली खोला रहेको अरुण काबेली जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments