विराटचोकः आज भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जीत हासिल गरेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटिएको थियो ।
आफ्नो टिमका लागि अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए । त्यस्तै, शयान जहांगिर २७, शेहान जयसुरिया २६, कप्तान शैतेजा मुक्कामुल्ला २२, मिलिन्द कुमार १२, शुभम रन्जने २, शौरभ नेत्रभाल्कर १०, नेत्र केन्जिगेले २९ रन जोडेका थिए ।
हर्मित सिंह र स्मित पटेल भने रनविहीन अवस्थामै आउट भए ।
यता, बलिङमा नेपालका सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले समान २–२ र सोमपाल कामीले एक विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो ।
नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । इशानले ८४ रनको उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरेका थिए । इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् । उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी गरेका थिए ।
कप्तान रोहित ५९ बलमा ४६ रन बनाएर आउट भए । आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशलले २९ र आसिफले ४३ रनको योगदान दिएका थिए । आक्रामक ब्याटिङ गरेका दीपेन्द्रले ३६ बलमा ५९ रन बनाएका थिए ।
गुल्सन झा १५, नन्दन यादव एक र सोमपाल कामी ५ रन बनाएर आउट हुँदा आरिफ शेख १७ रनमा अविजित रहेका थिए ।
बलिङमा अमेरिकाका शुभम रञ्जनेले २ तथा मिलिन्द कुमार र रुशिल उगर्कारले एकएक विकेट लिएका थिए ।
पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो ।
जीतसँगै पाँचौं स्थानमा रहेको नेपालले २४ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको अमेरिकाको ३८ अंक छ ।




