विराटचोकः कालङ्गा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ३ लाख ५० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ ।
कम्पनीले १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन हुन लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा जेठ २२ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाटको कालङ्गागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार ३१० रुपैयाँ ३ पैसा रहेको छ भने प्रतिमेगावाट लागत २८ करोड ३० लाख ६२ हजार १२० रुपैयाँ ६८ पैसा रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष १ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ । सो आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यवसायिक उत्पादन भइरहेको छ ।




