Thursday, May 21, 2026
Homeफिचरधरान १४ विजयपुरमा जन्मिएका १७ जना विद्यावारिधी गर्नेहरू सम्मानित

धरान १४ विजयपुरमा जन्मिएका १७ जना विद्यावारिधी गर्नेहरू सम्मानित

धरानः सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १४ विजयपुरमा जन्मिएर विद्यावारिधी गर्ने १७ जनालाई सम्मान गरिएको छ ।

साहित्यकार एवं धरानका पुराना अभियन्ता स्वर्गीय जगदीश नेपालीको स्मृति दिवसको अवसरमा विजयपुरमा जन्मेर हुर्किएका १७ जना विद्यावारिधी व्यक्तिहरूलाई ‘विद्वत सम्मानपत्र’द्वारा सम्मानित गरिएको हो ।

यसरी सम्मानित हुनेहरूमा प्रा.डा. माधवप्रसाद पोख्रेल, प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा.भरतप्रसाद भट्टराई, प्रा.डा.चन्द्रमणि नेपाल, डा. राजेन्द्र शर्मा पोख्रेल, डा.चन्द्र न्यौपाने, डा.भूषण काफ्ले, प्रा.डा. वसुधा खनाल, डा. शैलजा पोख्रेल, डा.अपर्णा पोख्रेल, प्रा.डा. ईश्वर पोख्रेल, प्रा.डा. सागरमणि सुवेदी, प्रा.डा. मदन कोइराला, डा. अमित खनाल, डा.पङ्कज खतिवडा र डा. केवल श्रेष्ठ हुनुहुन्छ ।

जगदीश नेपालीका छोरा सुरेश नेपाली संरक्षक रहेको जगदीश चित्रा समाज कल्याण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्मानितहरूलाई संस्कृतका विद्वान पुरुषोत्तम भट्टराईद्वारा दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको थियो ।

स्वर्गीय जगदीश नेपाली साहित्यका प्रसिद्ध लघु कथाकार हुनुहुन्थ्यो । उहाँलाई समीक्षकहरूले नेपाली खलिल जिब्रानको उपमा पनि दिएका थिए । धरानको भानुचोक तथा भानुभक्तको शालिकको स्थापना जगदीश नेपाली कोशी अञ्चल मोटर सिण्डिकेटको सभापति हुँदा पहल गर्नुभएको भाषाशास्त्री महानन्द सापकोटा बताउनुहुन्छ ।

२०३० को दशकमा साहित्यकार, मजदुर नेता, यातायात व्यवसायी सामाजिक अभियन्ताका रूपमा क्रियाशील जगदीश नेपालीले धरानको विकासमा महत्त्वपूर्ण योगदान दिनुभएको थियो ।

सम्मानित प्रा.डा.माधवप्रसाद पोखरेलले जगदीश नेपालीको परिवारका साहित्य तथा सामाजिक क्षेत्रमा योगदानको इतिहास बनाएका व्यक्तित्वहरूका रूपमा परिचित रहेको बताउनुभयो । प्रा.डा. गोपालप्रसाद भण्डारीले जगदीश नेपालीको जीवनका बारेमा प्रकाश पार्नुभएको थियो ।

साहित्यकार महेश प्रसाईँले सञ्चालन गरेको सम्मान कार्यक्रममा साहित्यकार भीष्म काफ्ले र पत्रकार हर्ष सुब्बाले जगदीश नेपालीसँगका पुराना स्मृति स्मरण गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments