इटहरीः शनिबार इटहरीमा केशव दाहालको पछिल्लो उपन्यास ‘इथा’ माथि विशेष साहित्यिक विमर्श कार्यक्रम आयोजना हुने भएको छ । “साहित्य, सङ्गीत र साधना उत्सव, २०८३” को पहिलो दिनको अवसरमा फाईन प्रिन्ट काठमाडौबाट प्रकाशित उपन्यास इथाको सोही कार्यक्रममा गृह विमोचन पनि गरिने भएको छ ।
इटहरीनिवासी साहित्यकार केशव दाहालको कृति गृहविमोचनका साथमा इटहरीमा साहित्य, सङ्गीत र साधना उत्सव २०८३ शुरु हुने सङ्गीत साधना प्रतिष्ठानका अध्यक्ष राजु केसी बताउनुहुन्छ । त्यस्तै, साहित्य, सङ्गीत र बौद्धिक साधनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको यस उत्सवले समकालीन साहित्यिक तथा सांस्कृतिक चेतना र सिर्जनात्मक संवादलाई एक नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।
कृतिमाथि भूषिता वशिष्ठ, लीला अनमोल र केशव दाहालले विमर्श गर्नुहुने भएको छ । फाइन प्रिन्ट र सङ्गीत साधना प्रतिष्ठान, नेपाल (इटहरी)को संयुक्त आयोजनामा हुने कार्यक्रमलाई सफल बनाउन स्थानीय साहित्यिक तथा सामाजिक संस्थाहरुले सहकार्य गरेका छन् ।
सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश तथा इटहरी उपमहानगरपालिकाको सहयोग रहने कार्यक्रममा गायक प्रीतम आचार्यको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ ।




